एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित
मोरङ — नेकपा एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले १५४ मत प्राप्त गर्दै प्रतिस्पर्धी प्रकाशचन्द्र ढकाललाई पराजित गरे। ढकालले ६६ मत प्राप्त गरे।
निर्वाचनमा पदाधिकारी पदका उम्मेदवारहरुले आ-आफ्नै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। अध्यक्षसहित उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव पदमा दाहाल समूहका उम्मेदवारहरु निर्वाचित भएका छन्।
उपाध्यक्षमा याम प्रसाईले १३४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी हरि श्रेष्ठले ८० मत पाए। सचिवमा नारायण ताजपुरीया १५९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी हेम कार्कीले ५३ मत प्राप्त गरे।
उपसचिवमा रामकुमार लिम्बू ११० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी रामकुमार राजवंशीले ४५ मत पाए। महिला उपसचिवमा सिता बर्देवा निर्विरोध निर्वाचित भइन्।
७५ सदस्यीय नगर कमिटीमा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन्। नेताहरूले प्रारम्भमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेपनि अन्तिम समयमा समूहगत प्रतिस्पर्धा भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























