कपुरी डेक्स।
कृष्णनगर-कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य मङ्गलप्रसाद गुप्ताको निधनप्रति सम्मान प्रकट गर्दै कृष्णनगर नगरपालिकाले मंगलबार सार्वजनिक शोक बिदा घोषणा गरेको छ।

कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रजत प्रताप शाहद्वारा जारी सूचनामा मिति २०८३ जेठ २४ गते भएको गुप्ताको असामयिक निधनले सम्पूर्ण नगरपालिका परिवार गहिरो शोकमा डुबेको उल्लेख गरिएको छ। नगरपालिकाले स्वर्गीय गुप्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

नगरपालिकाले शोकको सम्मानस्वरूप मिति २०८३ जेठ २६ गते मंगलबार कृष्णनगर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी शैक्षिक संस्था तथा अन्य कार्यालयहरूमा सार्वजनिक शोक बिदा घोषणा गरेको जनाएको छ। अत्यावश्यक सेवा अन्तर्गतका अस्पताल सेवा भने नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ।

राजनीतिमा पाँच दशकभन्दा बढी समय सक्रिय रहेका गुप्ता २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु–३ बाट विजयी हुँदै पहिलो पटक संघीय संसद् सदस्य बनेका थिए। सातौँ चुनावी प्रयासमा सफलता प्राप्त गरेका गुप्ता जिल्लाको राजनीतिक क्षेत्रमा धैर्य संघर्ष र निरन्तरताका प्रतीकका रूपमा परिचित थिए।
८० वर्षीय गुप्ताको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा जेठ २४ गते निधन भएको थियो। उहाँका श्रीमती दुई छोरी र चार छोरा रहेका छन्।