चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका लुम्बिनी प्रदेशबाट उत्कृष्ट नगरपालिका पुरस्कारका लागि छनोट भएको छ। प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) केन्द्रीय कमिटीले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को अवसरमा शिवराज नगरपालिकालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।

शिक्षा क्षेत्रको विकास, शैक्षिक गुणस्तर सुधार तथा स्थानीय तहमा विद्यालय शिक्षालाई व्यवस्थित बनाउन पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै शिवराज नगरपालिकालाई राष्ट्रियस्तरको सम्मानका लागि छनोट गरिएको जनाइएको छ।

PAN ले शिक्षा क्षेत्रमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन र उत्तरदायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनका अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्थानीय तह, विद्यालय, प्रधानाध्यापक, शिक्षाविद् तथा सञ्चारकर्मीलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिँदै आएको छ।

प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा छनोट समिति

पुरस्कार छनोट प्रक्रियालाई निष्पक्ष र योग्यतामा आधारित बनाउन वरिष्ठ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो। समितिमा रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे सदस्य रहेका थिए।

समितिले प्राप्त आवेदन, मनोनयन, स्थलगत विवरण तथा आवश्यक प्रमाणहरूको अध्ययन र मूल्याङ्कन गरी पुरस्कारका लागि योग्य स्थानीय तह छनोट गरेको जनाइएको छ। छनोट प्रक्रियामा संस्थागत आबद्धताभन्दा कार्यसम्पादन र वास्तविक योगदानलाई प्राथमिकता दिइएको PAN ले जनाएको छ।

लुम्बिनी प्रदेशबाट शिवराज र धुर्कोट छनोट

स्थानीय सरकार पुरस्कार विधाअन्तर्गत प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका र उत्कृष्ट गाउँपालिका छनोट गरिएको छ। यस क्रममा लुम्बिनी प्रदेशबाट कपिलवस्तुको शिवराज नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा छनोट हुँदा गुल्मीको धुर्कोट गाउँपालिका उत्कृष्ट गाउँपालिकाका रूपमा छनोट भएको छ।

शिवराज नगरपालिकाको यो छनोटले स्थानीय तहमा शिक्षा क्षेत्रको विकास तथा विद्यालय शिक्षाको सुधारका लागि भएका प्रयासलाई राष्ट्रियस्तरमा पहिचान दिलाएको छ।

नगर प्रमुख अजय थापाले स्थानीय तहमा आफूहरूले गरेको कामले चर्चा पाउन थालेको बताउनुभएको छ। नगरपालिकाले गरेका कामको राष्ट्रियस्तरमा चर्चा हुन थालेको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रसहित स्थानीय विकासका विभिन्न क्षेत्रमा गरिएका प्रयासले पहिचान पाउन थालेको बताउनुभयो।

विशेष समारोहमा पुरस्कार प्रदान गरिने

तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को विशेष समारोहमा छनोट भएका स्थानीय तह, विद्यालय तथा प्रधानाध्यापकलाई औपचारिक रूपमा पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ।

शिक्षा क्षेत्रको विकासमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस प्रकारका सम्मानले शैक्षिक सुधारका प्रयासलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।