कोलकाता, अक्टोबर १८। भारतको पश्चिम बंगालको उत्तर कोलकातास्थित चोरबागानमा दुर्गापूजाको पण्डालमा भएको भागदौडमा परी हालसम्म १९ जनाको मृत्यु भएको छ।

पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति र परिवारका एक सदस्यलाई समूह ‘डी’ अन्तर्गतको सरकारी पदमा रोजगारी दिने घोषणा गरेका छन्। घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने र उनीहरूलाई थप पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने पनि उनले बताएका छन्।

घटनाको निष्पक्ष छानबिन गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिने मुख्यमन्त्रीले जानकारी दिएका छन्। उनका अनुसार प्रहरीको विशेष कार्यदल (एसटीएफ), अपराध अनुसन्धान विभाग (सीआईडी) लगायत विभिन्न निकायका अधिकारी सम्मिलित टोलीले घटनाको अनुसन्धान गर्नेछ। अनुसन्धानको नेतृत्व न्यायाधीशले गर्ने व्यवस्था मिलाउन कलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश रविन्द्र घुगेसमक्ष पत्र लेखिने उनले बताए।

घटनास्थलको सीसीटीभी फुटेज संकलन गरिसकिएको र त्यसमा कसैको लापरबाही देखिए दोषीमाथि कारबाही गरिने मुख्यमन्त्रीले स्पष्ट पारे। पूजा आयोजक समिति वा प्रहरीबाट कर्तव्य निर्वाहमा लापरबाही भएको पाइए कसैलाई पनि उन्मुक्ति नदिइने उनको भनाइ छ।

मुख्यमन्त्रीले घटनापछि मन्त्रिपरिषद्, मुख्य सचिव, प्रहरी महानिर्देशक, प्रहरी आयुक्त, विभिन्न विभागका अधिकारी तथा जनप्रतिनिधिसँग छलफल गरी आवश्यक निर्णय लिइरहेको बताए। उनले आफू राति अबेरसम्म पनि मेडिकल कलेजमा बसेर घाइतेको उपचार तथा राहत व्यवस्थापनबारे जानकारी लिएको उल्लेख गरे।

मृतकका शव पोस्टमार्टमपछि परिवारलाई बुझाइने र अन्य राज्यमा मृत्यु भएका दुई जनाको शव घरसम्म पुर्‍याउने जिम्मेवारी पनि राज्य सरकारले लिने उनले बताए। घाइतेका परिवारसँग भेटघाट तथा संवाद गरिने र स्वास्थ्य मन्त्री तथा स्वास्थ्य सचिव अस्पतालमै रहेर उपचार व्यवस्थापनको अनुगमन गर्ने जानकारीसमेत उनले दिएका छन्।

घटनापछि कोलकाता प्रहरी आयुक्तको राजीनामा माग गरिएको विषयमा मुख्यमन्त्रीले सीसीटीभी फुटेज र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कारबाही हुने बताए। उनले घटनालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरेका छन्।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरिसकेका छन्।