कपुरी,डेक्स

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिको बैठकले दिपक रजौरियासहित ५ जना नेता तथा कार्यकर्तालाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको छ।

चन्द्रौटामा सम्पन्न बैठकले गत संसदीय निर्वाचनका क्रममा पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अनुशासन समितिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले क्षेत्रीय कार्यसमितिमा नयाँ नेतृत्वसमेत चयन गरेको छ। निवर्तमान कार्यवाहक क्षेत्रीय अध्यक्ष प्रेमनारायण खनाललाई क्षेत्रीय अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ। त्यस्तै, क्षेत्रीय उपाध्यक्षमा अली बख्स मुसलमान तथा क्षेत्र नं. ३(ख) को अध्यक्षमा चन्द्रबहादुर कुँवर क्षेत्री सर्वसम्मत चयन हुनुभएको छ।

बैठकमा पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बैठकले संगठनलाई थप सुदृढ बनाउँदै पार्टी अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल गरेको जनाइएको छ।