कपिलवस्तु । सर्पदंशको उच्च जोखिममा रहेका कपिलवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिका क्षेत्रमा सञ्चालन गरिएको सर्पदंशसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ।

सामान्य लापरबाही तथा विषालु सर्पको पहिचान र डसाइपछि देखिने लक्षणबारे जानकारीको अभावमा हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानपछि यस वर्ष विषालु सर्पको डसाइका घटनामा विगतका वर्षको तुलनामा ६० प्रतिशतले कमी आएको बताइएको छ। यस वर्ष सर्पदंशका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।

शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममार्फत स्थानीयवासीलाई विषालु सर्पको पहिचान, सर्पदंशपछि देखिने लक्षण, अपनाउनुपर्ने सावधानी तथा समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा जानकारी गराइएको थियो।

सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका प्रमुख नवीन भण्डारीले सचेतना तथा अभिमुखीकरण कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। उहाँले सर्पदंशबाट हुने जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना फैलाउनु आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने जानकारी दिनुभयो।

सर्पदंशका घटनामा कमी आउनु र यस वर्ष सर्पदंशबाट मृत्यु हुनेको संख्या शून्य हुनु सचेतना अभियानको सकारात्मक उपलब्धिका रूपमा लिइएको छ। स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायको सहकार्यमा अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइएको छ।