शिवराज नगरपालिका क्षेत्रभित्र अवैध रूपमा सञ्चालनमा रहेका स्पा तथा डान्सबार ७ दिनभित्र बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।

नगर क्षेत्रमा सञ्चालित केही स्पा तथा डान्सबारका गतिविधिका कारण सामाजिक विकृति बढेको, शान्ति सुरक्षामा खलल पुगेको तथा सामाजिक मर्यादामा प्रतिकूल असर परेको भन्दै नगरवासीबाट पटक–पटक गुनासो तथा डेलिगेसन आएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जारी गरेको सूचनामा प्रचलित कानुन र मापदण्डअनुसार होटल, रेष्टुरेन्ट तथा लज सञ्चालन गर्न पाइने भए पनि त्यस्ता व्यवसायको आडमा छुट्टै स्पा, डान्सबार तथा सामाजिक विकृति बढाउने गतिविधि सञ्चालन गर्न नपाइने उल्लेख छ।

त्यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा सम्बन्धित व्यवसायी तथा सञ्चालकमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने नगरपालिकाले जनाएको छ। साथै, व्यवसायमा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउनसमेत नपाइने स्पष्ट पारिएको छ।

नगर कार्यपालिकाको २०८३ भदौ २२ गतेको निर्णयअनुसार जारी सूचनामा अवैध रूपमा सञ्चालित स्पा तथा डान्सबार सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बन्द गर्न भनिएको छ। तोकिएको समयभित्र व्यवसाय बन्द नगरेमा सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन, नियन्त्रण तथा आवश्यक कानुनी कारबाही अघि बढाइने शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले जानकारी दिनुभयो।