राष्ट्रका धरोहर जलाउनेहरू नै चुनावी मैदानमा
काठमाडौं, १३ फागुन २०८२ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेत्री रामकुमारी झाक्रीले जेन–जी आन्दोलनका क्रममा भएका आगजनी र हिंसात्मक घटनालाई स्मरण गर्दै ती घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरू नै अहिले निर्वाचनमा उम्मेदवार बनेर मत माग्न हिँडिरहेको भन्दै गम्भीर प्रश्न उठाएकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै झाक्रीले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन तथा राष्ट्रपति भवनजस्ता राष्ट्रिय संरचनामा आगजनी भएको घटनालाई आफूहरूले नबिर्सेको स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, “जलाएको सिंहदरबार, जलाएको सर्वोच्च अदालत, खरानी बनाएको संसद् भवन, जलाएको राष्ट्रपति भवन — हामी बिर्सेका छैनौं, बिर्सने छैनौं। सयौं युवाका उजाडिएका सपनाहरूको पनि हिसाब खोज्नेछौं।”
निर्वाचन नजिकिँदै जाँदा मतदातालाई एकपटक गम्भीर भएर सोच्न आग्रह गर्दै उनले विगतमा विध्वंसात्मक गतिविधिमा संलग्न भएको आरोप लागेका व्यक्तिहरू अहिले आफूलाई आन्दोलनको ‘स्टेकहोल्डर’ बताउँदै भोट माग्न आएकोप्रति चिन्ता व्यक्त गरिन्।
झाक्रीले चेतावनीपूर्ण शैलीमा भनिन्, “आज राष्ट्रका धरोहर जलाउनेहरूले भोलि देशलाई बारूदको चेपुवामा पार्न सक्छन्।”
उनको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा पुनः जेन–जी आन्दोलन, त्यसक्रममा भएका आगजनी तथा त्यसमा संलग्न भनिएका व्यक्तिहरूको भूमिकाबारे बहस चुलिएको छ। निर्वाचनको संघारमा यस्ता विषयले मतदाताको निर्णयमा कस्तो प्रभाव पार्छ भन्ने चासो समेत बढेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























