चन्द्रौटा ।
स्थानीय सरकारलाई डिजिटल र पारदर्शी बनाउने अवधारणा
शिवराज — स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई प्रविधिमार्फत थप व्यवस्थित, पारदर्शी तथा नागरिककेन्द्रित बनाउन सकिने अवधारणासहित कम्प्युटर इन्जिनियर सुसन अधिकारीले ‘मेरो शिवराज’ नामक प्रयोगात्मक वेबसाइट तयार गरेका छन्।

वेबसाइटमा शिवराज नगरपालिकाका ११ वटै वडालाई समेटेर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, रोजगारीलगायत स्थानीय सरोकारका विषयमा नागरिकका समस्या, प्राथमिकता तथा सुझाव संकलन गर्न सकिने व्यवस्था गरिएको छ।

प्राप्त प्रतिक्रियालाई वडागत तथा विषयगत रूपमा विश्लेषण गरी स्थानीय आवश्यकता पहिचान गर्न तथा योजना निर्माणमा उपयोग गर्न सकिने अवधारणा वेबसाइटमा समेटिएको अधिकारीले बताएका छन्।

उनका अनुसार ‘मेरो शिवराज’ हाल कुनै सरकारी निकायले औपचारिक रूपमा सञ्चालन गरेको वेबसाइट नभई स्थानीय सरकारलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने देखाउने प्रयोगात्मक प्रयास हो।

भविष्यमा वेबसाइटलाई थप विकास गरी नागरिकका गुनासो तथा समस्या अनलाइनबाट दर्ता गर्ने र त्यसको अवस्थाबारे जानकारी लिन सकिने ट्र्याकिङ सिस्टम समेत थप गर्न सकिने अधिकारीले बताएका छन्। हाल भने वेबसाइटमा यस्तो प्रणाली समावेश गरिएको छैन।

अधिकारीका अनुसार नागरिकको आवाजलाई डिजिटल माध्यमबाट संकलन गरी तथ्यांकमा रूपान्तरण गर्न सके स्थानीय सरकारलाई नागरिकका प्राथमिकता पहिचान, योजना निर्माण तथा सेवा प्रवाह सुधारमा सहयोग पुग्न सक्छ।
स्थानीय आवश्यकता र सरोकारवालाको सुझावका आधारमा ‘मेरो शिवराज’लाई भविष्यमा थप परिमार्जन तथा विकास गर्न सकिने उनको भनाइ छ।