२०८२ फागुन ०७ कपिलवस्तु
नेपाली काङ्ग्रेस ले २०८२ फागुन ०६ गते सार्वजनिक गरेको प्रतिज्ञापत्रप्रति सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले आभार व्यक्त गरेको छ। प्रतिज्ञापत्रमा नेपाली जनताका आधारभूत समस्या तथा नीतिगत सुधारका विषयलाई जिम्मेवार र समाधानमुखी ढंगले समेटिएको भन्दै सिडेनले त्यसको स्वागत गरेको हो।

सिडेनद्वारा विभिन्न चरणमा प्रस्तुत सुझाव, परामर्श तथा नीतिगत सिफारिसहरूलाई राजनीतिक तहबाट सम्बोधन गरिएको विषयले इन्जिनियरिङ्ग समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ।

यसै सन्दर्भमा सिडेनले नेपाली काङ्ग्रेसका उम्मेदवारहरूलाई पूर्वाधार विकास तथा इन्जिनियरिङ्ग क्षेत्रसम्बन्धी तथ्यगत आधार, नीतिगत परामर्श तथा निर्वाचन लक्षित सहयोग उपलब्ध गराउने उद्देश्यले “नेपाली काङ्ग्रेस–सिडेन समन्वय प्रतिनिधि” परिचालन गर्ने निर्णय गरेको छ। सोही अनुसार कपिलवस्तु क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाह को चुनाव लक्षित समन्वय प्रतिनिधिका रूपमा इन्जिनियर मोहन केसीलाई खटाइएको छ।

समन्वय प्रतिनिधि इन्जिनियर मोहन केसीले उम्मेदवारलाई विजयी गराउन केन्द्रीय कार्यकारिणी समितिसँग समन्वय गरी आवश्यक सहयोग गर्ने, पूर्वाधार निर्माण, सार्वजनिक खरिद, गुणस्तर नियन्त्रण, प्राविधिक जनशक्ति व्यवस्थापन तथा पेशागत सुरक्षासम्बन्धी विषयमा नियमित संवाद र सहकार्य गर्ने जिम्मेवारी पाएका छन्।

साथै निर्वाचित भएपछि प्रतिज्ञापत्रमा उल्लिखित पूर्वाधार तथा इन्जिनियरिङ्ग क्षेत्रका प्रतिबद्धता कार्यान्वयनका लागि जिम्मेवार पहल गर्ने उल्लेख गरिएको छ।

नीति निर्माण संशोधन तथा कार्यान्वयनका क्रममा प्राविधिक परामर्शलाई संस्थागत रूपमा समेट्ने तथा क्षेत्रगत समस्या पहिचान, तथ्य संकलन र समाधानका लागि सिडेनसँग निरन्तर सहकार्य गर्ने जनाइएको छ। उक्त निर्णयको बोधार्थ नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयलाई पठाइएको छ।