शिवराजमा काँग्रेस को चुनावी अभियानलाई गति सम्पर्क कार्यालयको उद्घाटन
कपिलवस्तु — “नयाँ सोच, नयाँ जोश, नयाँ नेपाल” भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाली काँग्रेस क्षेत्र नं. ३ ले आफ्नो चुनावी अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पर्क कार्यालय स्थापना गरेको छ। शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा आज आयोजित कार्यक्रममा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले रिबन काटेर सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले लोकतन्त्रको सुदृढीकरण, समावेशी विकास र जनउत्तरदायी शासन नेपाली काँग्रेसको मूल प्रतिबद्धता रहेको बताउनुभयो। जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र दृष्टिकोण प्रभावकारी रूपमा प्रस्तुत गर्न सम्पर्क कार्यालय महत्वपूर्ण माध्यम बन्ने उहाँको भनाइ थियो।
उहाँले जनताको विश्वास, साथ र सहभागिताबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आह्वान गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला उपसभापति हुमाकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी, महासमिति सदस्य विनोद नेपाल, जिल्ला सदस्य केशव पाण्डे तथा प्रदेश सभापति गोविन्दबहादुर खत्रीले लोकतान्त्रिक मूल्य–मान्यता, विकास र सुशासनप्रति काँग्रेस प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो।
त्यस्तै, युवा नेताहरू हरिप्रसाद पोखरेल, राजु बाबू खराल, रामेश्वर वर्मा, रामबहादुर चौधरी, रिजवान अहमदलगायत शिवराज नगरपालिकाका ११ वटै वडाका वडा सभापति तथा सयौं अगुवा नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























