स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै, दुई वर्षका लागि नेपाली क्रिकेट टोलीको जिम्मा सम्हाल्ने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल यही शुक्रबार, अप्रिल २५ मा नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले उनी यही मितिमा काठमाडौं ओर्लने जानकारी दिएको हो।
५६ वर्षीय ल गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका थिए। तर, नियुक्त भएको झण्डै एक महिनापछि उनी नेपाल आउन लागेका हुन्। यसबीचमा हङकङमा सम्पन्न चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कार्यवाहक प्रशिक्षकको रूपमा टोली सम्हालेका थिए।
लको कार्यकाल अप्रिलदेखि सुरु भई दुई वर्षसम्म रहनेछ। अघिल्ला प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता गत जनवरीमा सकिएपछि रिक्त रहेको पदमा आवेदन आह्वान गरिएको थियो। आवश्यक प्रक्रिया पूरा गर्दै अन्ततः अनुभव समृद्ध प्रशिक्षक स्टुअर्ट लको छनोट गरिएको हो।
स्टुअर्ट ल अष्ट्रेलियाको पूर्व खेलाडी हुन्। उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलियाका लागि खेलेका थिए, जहाँ टोली उपविजेता बनेको थियो। खेल जीवनपछि उनले श्रीलंका, बंगलादेश, अफगानिस्तान, वेस्ट इन्डिज र अमेरिकाको टोलीमा प्रमुख प्रशिक्षकको भूमिका निभाइसकेका छन्।
उनको आगमनसँगै नेपाली क्रिकेटमा नयाँ ऊर्जा र रणनीतिका अपेक्षा गरिएको छ। नेपाली क्रिकेट समर्थकहरूले आशा गरेका छन् कि लको अनुभवले टोलीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझ सशक्त बनाउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










