महाराजगञ्ज, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दमकल सेवा नहुँदा आगलागीका घटनामा स्थानीयले ठूलो क्षति व्यहोर्दै आएका छन्। पछिल्लो पटक महाराजगञ्ज नगरपालिका–२, पडरियामा भएको भीषण आगलागीमा सफिक मुसलमानको परिवारका करिब १० वटा भैँसी मरेका छन् भने दुई वटा भैँसी गम्भीर घाइते भएका छन्।

नगरपालिका कार्यालयबाट करिब २–३ किलोमिटरको दूरीमा रहेको पडरियामा आगलागी हुँदा समयमै दमकल पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयको भनाइ छ। “समयमै दमकल पुगेको भए यति ठूलो क्षति हुनबाट जोगिन सकिन्थ्यो,” स्थानीयले भने।

Oplus_131072

नगरपालिकामा आफ्नै दमकल सेवा नहुँदा आगलागी नियन्त्रणमा समस्या हुँदै आएको स्थानीयको गुनासो छ। आगलागी नियन्त्रणका लागि अन्य स्थानीय तह वा सम्बन्धित निकायको दमकलमा निर्भर रहनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

महाराजगञ्ज नगरपालिकामा दोस्रो पटक निर्वाचित नगर प्रमुख अब्दुल कलाम खाँले नागरिकको सुरक्षासँग जोडिएको दमकलजस्तो आधारभूत सेवाको व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ। यद्यपि, यस विषयमा नगर प्रमुख वा नगरपालिकाको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

स्थानीयले नगरपालिकाले तत्काल दमकलको व्यवस्था गर्नुपर्ने, आगलागीबाट पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने र आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्ने माग गरेका छन्।