कपिलवस्तु । शिवराज नगरपालिका–१० ले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशीलगायतका नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वडा समितिले सहयोग गर्ने निर्णय गरेको हो।

वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ मा सामाजिक विकासतर्फ वडा स्तरीय योजना तथा कार्यक्रमका लागि विनियोजित १ लाख ५० हजार रुपैयाँमध्येबाट ५० हजार रुपैयाँ नबढ्ने गरी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।

वडा समितिको २०८३ भदौ १८ गतेको निर्णयअनुसार उक्त रकम कोषमा जम्मा गर्ने कार्यप्रक्रिया अगाडि बढाउन सिफारिससहित अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ।