नागपञ्चमीमा भाइरल डाँडामा मेला साथै विशेष पूजा
कपुरी,डेक्स ।
कपिलवस्तु । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा शिवराज नगरपालिका–१ स्थित भाइरल डाँडामा मेला तथा विशेष पूजाको आयोजना गरिने भएको छ। भाइरल डाँडामा रहेको बासुकी नागको स्थानमा नागपञ्चमीका दिन विशेष पूजाआजा गरिने भएको हो।
मेलाका संयोजक मानबहादुर विश्वकर्माले नागपञ्चमीका दिन भाइरल डाँडामा मेला आयोजना हुने जानकारी दिनुभयो। उहाँका अनुसार बासुकी नाग रहेको स्थानमा भक्तजनहरूले पूजा तथा दर्शन गर्न सक्नेछन्।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नागपञ्चमीका अवसरमा बासुकी नाग रहेको स्थानमा विशेष पूजाआजा गरिने बताउनुभयो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भाइरल डाँडामा नागपञ्चमीका दिन पूजा तथा दर्शनका लागि ठूलो संख्यामा श्रद्धालुहरू आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
यस्तै, शिवराज नगरपालिका–१ का वडा अध्यक्ष खिमविक्रम केसीले नागपञ्चमीको अवसरमा भाइरल डाँडामा आयोजना हुने मेला तथा विशेष पूजामा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गर्नुभएको छ।
उहाँले बासुकी नागको धार्मिक स्थलमा हुने पूजाआजा तथा मेलामा सहभागी भई पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात् गर्न आग्रह गर्नुभयो।
नागपञ्चमीको अवसरमा शिवराज नगरपालिकाले २०८३ साल भदौ १ गते सोमबार स्थानीय बिदासमेत दिएको छ। नगरपालिकाको सूचनाअनुसार नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था (अति आवश्यक सेवाबाहेक), शिक्षण संस्था तथा मातहतका सम्पूर्ण संस्थामा स्थानीय बिदा रहनेछ।
बासुकी नाग रहेको धार्मिक स्थलमा हुने विशेष पूजाआजा तथा मेलालाई व्यवस्थित बनाउन आयोजकले आवश्यक तयारी गरिरहेको जनाएको छ। मेलामा सहभागी भई बासुकी नागको दर्शन तथा पूजाआजा गर्न श्रद्धालुहरूलाई आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















