काठमाण्डाै, १६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले शान्ति प्रकिया टुङ्ग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ ।
आज बिहीवारको प्रतिनिधिसभाको बैठकमा सांसद पुनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष तहमा सकारात्मक छलफल भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू पीडितमैत्री बनाई टुङ्ग्याउनुपर्ने पुनकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अघि बढेका छौँ । त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएको छ । सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छाैँ । यद्यपि विधेयक अहिले पनि समितिमा छ । त्यसमा सहमतिको प्रयत्न भएको छ । सबै पार्टीहरूले एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ । यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन । यसमा सबैले सहकार्य गरेर जानुपर्छ । हिजोसम्म नेताहरूबीचमा भएका छलफलले सकारात्मक सन्देश दिएकाे छ । हामी मिलेर जानेमा नै छौँ ।’
सांसद पुनले सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढे पीडितहरूलाई न्याय दिएर सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिने पनि बताउनुभयो ।