गुटेरेसले नेपालबारे राम्राे मूल्याङ्कन गर्नुभयाे : ओली
काठमाण्डाै, १४ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्लाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको प्रतिक्रिया दिनुभयाे ।
आज मङ्गलवार महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ यस्ताे प्रतिक्रिया दिनुभएको हो । उहाँले संसदमा गरेकाे सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनुभयाे । उहाँले महासचिव गुटेरेसले नेपालबारे राम्रो मूल्याङ्कन गरेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले केही महत्त्वपूर्ण विषयहरू प्रकाश पार्नुभएको छ । उहाँले वातावरण, गरिबी निवारणका साथै शान्ति प्रक्रियालाई टुङ्ग्याउने बारेमा प्रकाश पार्नुभएको छ । उहाँले नेपालकाे राम्रो मूल्याङ्कन गर्नुभएको छ । गरिब देशलाई सम्पन्न देशले सहयोग, समर्थन गर्नुपर्छ भन्नुभयाे । संयुक्त राष्ट्र सङ्घमा जनाएका प्रतिबद्धता अनुरूप वातारणीय विनाश रोक्न नेपालको सजगता र योगदानप्रति उहाँले विशेष प्रशंसा गर्नुभएको छ । म र मेरो पार्टीको तर्फबाट उहाँलाई धेरै धन्यवाद भन्न चाहन्छु ।’
गुटेरेसले पीडित केन्द्रित भएर सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामनासमेत गरेको बताउनुभयो ।
फाइल तस्बिर
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















