काठमाडौं : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन पाँच दिनमा पनि टुंगिएको छैन।

नेतृत्व चयनमा नेताहरुको रस्साकस्सीका कारण अझै नटुंगिएको हो। धनगढीको बाराही पार्टी प्यालेसमा उद्घाटन भएको अधिवेशन आजदेखि अर्को पार्टी प्यालेसमा सारिएको छ तर अधिवेशन कहिले टुंगो पुग्ने भन्ने अन्योलमा छ। नेताहरु सहमतीको प्रयासमै रहेको बताइएको छ।

निर्वाचनमा अन्योल भएपछि सुदूरपश्चिमका नौवटै जिल्लाबाट आएका ६७५ जना प्रतिनिधि सबैजसो जिल्ला फर्किसकेका छन्। सहमतिको प्रयास सफल नभएपछि मंगलबार सुरु हुने निर्वाचन पनि हुन सकेन। अहिले पनि सहमतिको प्रयास जारी भए पनि निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अडान उम्मेदवारहरुले राखेपछि अन्योल बढ्दै गएको छ।

प्रदेश अध्यक्षमा सहमती गर्ने भन्दै दुई जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। कमल तिमल्सिना र कृष्णप्रसाद जैसीको उम्मेदवारी कामय छ। वचनबहादुर सिंह र भरत साउद उम्मेदवारी फिर्ता लिएका छन्। ​

सुदूरपश्चिममा एमाले नेता भीम रावलका आधिकारिक उम्मेदवार कृष्ण प्रसाद जैसीलाई अध्यक्ष बनाउन नेताहरु सहमती जारी राखेका छन्। कमल तिमल्सिनालाई उम्मेदवारी फिर्ता लिन एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर दबाब दिइरहेको नेताहरु बताउँछन्।

उनलाई केन्द्रीय सदस्य बनाउने ओलीले आश्वासन दिएका छन्। कार्यकर्ताहरु तिमिल्सिना र जैसीका लागि अलगअलग कित्तामा नेता कार्यकर्ताहरु बाँडिएका देखिन्छन्।

निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सचिव लेखराज भट्ट समर्थित प्रतिनिधि एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन्। भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन्।

ओलीलाई हटाएर पूर्व राष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष बनाउनु पर्ने लबिङमा लागेका थापाको आशिर्वाद पाएका जैसी एमाले नेता भीम रावल पक्षधर मानिन्छन्।

जैशी अध्यक्ष बने रावल सुदूरपश्चिममा जबरजस्त कमब्याक गर्ने नेताहरुको बुझाइ छ। अध्यक्षमा सहमति लगभग टुंगिए पनि उपसचिव खुलाको एक पदमा कुरा नमिलेको नेताहरुले बताउँदै आएका छन्।

उपसचिवमा नरबहादुर विकमा सहमति हुनुपर्नेमा जोड छ। सहमति नभए विकलाई पनि केन्द्रीय सदस्य बनाउनु पर्ने माग उठेको छ। अधिवेशनले अध्यक्षसहित १ सय ५५ सदस्य नयाँ नेतृत्व चयन गर्नेछ।