रौतहट : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफूले बनाएको नयाँ पार्टीले दुई वर्षमा ठूलो प्रगति गरेको बताएका छन्। मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज रौतहटको चन्द्रनिगाहापुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यो अभियानले पार्टी अझै सुदृढ हुने बताए।

यो अभियानले जनतामा आफूले आशाको लहर देखेको बताउँदै अध्यक्ष नेपालले जनताको उपलब्धि हरण गर्न खोज्नेहरूका विरुद्ध आफ्नो पार्टी सशक्त रुपमा लागेको बताए। उनले धरान घटना ,मलंगवा घटना र नेपालगन्जमा भएको घटनाबाट सबैले पाठ सिकेर होसियार हुन समेत आग्रह गरे। समाजमा सबै मिलेर बस्नु पर्नेमा समाजिक संजालका पछाडि लागेर एक आपसमा नलड्नसमेत अध्यक्ष नेपालले आग्रह गरे।

आफ्नो पार्टीले देशको अर्थतन्त्रको नाजुक अवस्थाका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाएको र फेरि पनि अर्को ज्ञापनपत्र बुझाउने तयारीमा रहेको बताए। पार्टी प्रति बढ्दै गएको वितृष्णा चिर्नका लागि समेत आफ्नो पार्टीले मेची महाकाली जागरण अभियान थालेको अध्यक्ष नेपालले बताए।