नाम मात्रको आयोग बनाउन खोजेपछि बिच्कियो एमाले, जुटेन सहमति
काठमाडौं : सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकार र एमालेबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। आयोग गठनको विषयमा छलफल गरे पनि सहमति हुन नसकेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले नाम मात्रैको आयोग गठन गर्न खोज्दा सहमति हुन नसकेको बताए। उनले सरकारले आयोगलाई संरचनात्मक सुधारको लागि मात्रै गठन गर्ने प्रस्ताव गरेकोमा आफूहरूको असहमति रहेको सुनाए।
‘कानुन र संरचनात्मक मात्रै नभई सुन तस्कारीको कारण,यसको परिणाम र संलग्नताको विषयमा विस्तृत रुपमा अध्ययन गरेर कानुनी कारबाहीको लागि सिफारिस गर्नसक्ने शक्तिशाली आयोग गठन गर्ने हाम्रो प्रस्ताव हो तर सरकार यसको लागि तयार छैन’ ,उनले भने।
सरकारले सिआइबीले अनुसन्धान गरिसकेको विषयमा विस्तृत अनुसन्धान आवश्यक नरहेको बताएको भन्दै उनले सरकारको दवावको कारण सिआइबीको अनुसन्धान पारदर्शी हुन नसकेको भएर नै आयोग गठन गर्न एमालेले माग गरेको बताए।
सुन तस्करीमा आफ्नै संलग्नता रहेकोले सरकार निष्पक्ष छानविन आयोग गठन गर्नबाट डराइरहेको उनको आरोप छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























