काठमाडौं : यातायात व्यवसायीहरुले प्रयोजन विपरीतका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधनहरु मालबाहक वा यात्रुबाहक सवारी साधनको रुपमा प्रयोग बढेको भन्दै त्यस्तो प्रयोग तत्काल रोक्न व्यवसायीहरुले माग गरेका हुन्।

यातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजनअनुसार प्रयोग भए/नभएको जाँच गरी कारबाही गर्न आग्रह गरेका छन्।

उनीहरुले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले प्रयोजनविपरीत यात्रा र ढुवानी सेवा दिन नपाउने कानूनी व्यवस्था रहेको बताए।​ उनीहरुले सार्वजनिक र निजी सवारी साधनको विषयमा स्पष्ट नीति फितलो हुँदा मालबाहक सवारी साधनहरु चल्न नसक्ने अवस्थामा रहेको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई सरकारले कडाई गर्नुपर्ने बताए।

उनले कृषिमा सुविधा लिएर जोत्नको लागि सवारीसाधन बनाएकोले कृषिको लागि दर्ता भएको ट्याक्टरले ढुवानी गर्न नपाउने दाबी गरे।

उपाध्यक्ष सिटौलाले बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नको लागि ट्याक्टर प्रयोग भइरहेको भन्दै सरकारले तत्काल रोक्नुपर्ने बताए।

उनले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले मालबाहक सवारीका रुपमा ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै निकायहरुलाई पत्र पठाएको बताए।

त्यस्तै उपाध्यक्ष सिटौलाले सरकारले भारतीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिनु गलत भएको बताए। उनले ७२ घण्टामा त्यस्ता सवारी साधनहरु देश नै घुमिसक्ने भन्दै नेपालमा मालवाहक सवारी साधनहरु घर ग्यारेजमा थन्किनु परेको बताए।

उनले भने,‘सरकारले भातीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिएको छ। ७२ घण्टामा देश नै घुमिसक्छ। तर नेपालमा मालवाहक सवारी साधनहरु घर ग्यारेजमा थन्किनु परेको छ। त्यो मात्रै नभएर सार्वजनिक यात्रुवाहक यातायात र ट्याक्सीको हालत त्यही छ। प्रयोजन विपरितको रातो प्लेटको सवारी साधनलाई महासंघमा सदस्यता दिने गरेको थियो त्यो हुँदैन।’

नेपाल यातायात राष्ट्रिय महासंघका कोषाध्यक्ष रामबाबुशिवु तामाङले सार्वजनिक यातायात व्यवसायीहरुलाई राज्यले दुश्मन बनाउने काम गरेको बताए।

उनले यातायात ऐन अनुसार चलाउन राज्यले निदेशन गर्नुपर्ने बताउनु भयो। कार्कीले सप्रमाण सहित प्रयोजन विपरितका सञ्चालन हुने सवारी साधनहरुलाई कारबाही न्युन रहेको भन्दै कडाईका साथ सरकारले कारबाही गर्न माग गरे।

त्यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघको मालबाहक समिति सभापति नविन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिबन्ध लगाउनु गलत भएको बताए। उहाँले मालवाहकका ठूला टिप्परहरु बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था तत्काल खारेज गर्न माग गरे।

त्यस्तै, दाङ ट्याक्टर व्यवसायी ढुवानी सेवा प्रा.लि.का अध्यक्ष चिन्तामणि आचार्यले सार्वजनिक यातायात र निजी सवारी साधनको विषयमा राज्यको नीति नियम नै फितलो रहेको बताए। उनले विगतमा ७ हेक्टर जमिन देखाएर मात्रै ट्याक्टरहरु खरिद गर्न पाउने व्यवस्था विगतमा रहेको बताए।