राष्ट्रिय मान्यताप्राप्त दलको पनि आयव्यय छानबिन आवश्यक : सांसद भट्टराई
काठमाडौँ : नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय मान्यताप्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताए।
उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी पार्टीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताए । उनले समितिले दलको खर्चको स्रोत ,पार्टी सञ्चालन खर्च हेर्नुपर्ने बताए।
उनले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्ने/नबन्ने, टिकट दिने/नदिने सम्बन्धित दलले निर्णय गर्ने बताए। उनले पार्टीमा काम गरेपछि त्यो व्यक्तिले गरेको कामको प्रतिवेदन दललाई बुझाउनुपर्ने पनि बताए ।
सांसद भट्टराईले समितिले निर्णयकर्ता र कार्यान्वयनकर्तालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए। उनले त्यो व्यक्ति जिम्मेवारीबाट हटेपछि आफ्नो कार्याकालमा त्यो काम गर्ने व्यक्ति नै संवैधानिक अंग र नियोगहरुमा नियुक्ति हुने उल्लेख गरे। उनले त्यस्तो विषयमा निश्चित सीमा बनाउन आवश्यक रहेको पनि जानकारी दिए।
उनले जसको कार्यकालमा भ्रष्टाचार वृद्धि छ, बेरुजु फर्स्याेट छैन, आर्थिक अनियमितता छ, सरकारले त्यस्तो व्यक्तिलाई अख्तियारमा, निर्वाचन आयोगलगायतमा नियुक्ति गर्ने गरेको भन्दै त्यस्तो गर्न नहुने बताए। यस्ता विषयमा पनि समितिले कानूनीरुपमा जवाफदेही खोज्ने काम गर्न आवश्यक भएको उनले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















