काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसदभित्र बोल्न नपाएपछि संसद् भवनबाहिरै सभामुखलाई सम्बोधन गर्दै आफ्ना कुरा राखेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधको कारण बुधबार पनि संसद् बैठक स्थगित भएको छ। एमालेको विरोधको कारण बैठकभित्र बोल्न नपाएका लामिछानेले संसद् भवनबाट बाहिरिएपछि सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आफ्नो कुरा बैठकभित्र जस्तै गरी राखेका हुन्।

‘संसदभित्र राख्न नपाइएको हुनाले संसद् भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरू राख्न चाहन्छु’, लामिछानेले भने। उनले गैरकानुनी रूपमा नेपालमा सुन भित्रिएको प्रकरणमा गृहमन्त्रीले ३५ दिन समय माग्नुलाई अन्यथा भन्न नमिल्ने तर कुन कानुन टेकेर भन्सार विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा पठाएको? भनेर प्रश्न गरे ।

उच्च तहको संलग्नता बिना यति ठूलो सुन तस्करी हुन नसक्ने लामिछानेको भनाइ थियो। उनले मन्त्रालयस्तरमा कसको संलग्नता छ भनेर भन्न नसक्ने तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कुरा कसैसामु नलुकेको बताए। त्यसैले अनुसन्धान गर्दा अर्थ मन्त्रालयका सचिव र प्रहरी प्रमुखकै पनि संलग्नता छ कि छैन? भन्ने शंकाको विषय भएको उनको भनाइ थियो।

‘भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’,लामिछानेले प्रश्न गरे।