नेतृत्वप्रति नै सन्तुष्ट छैनन् नेकपा एसका नेता
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए। संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
संसद् बैठक नै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेको उनले बताए।
उपमहासचिव तुलाधरले भने, ‘संसदलाई संसद् जस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्यो त? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन्।’
हिजो (शनिबार)बाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो।
उपमहासचिव तुलाधरका अनुसार अब भदौ पहिलो साता बस्ने पोलिटव्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















