काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको उत्तराधिकारी अहिले कोही पनि नभएको बताएका छन्। आइतबार केन्द्रीय कमिटी बैठकपश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले प्रचण्ड नै १६ वर्षे जवानसरह सक्रिय रहेकाले उत्तराधिकारीको विषय तय नभएको बताए।

​‘प्रचण्डले नेतृत्व तोक्ने होइन। प्रचण्डपछिको नेतृत्व आउन उहाँभन्दा योग्य, गतिशील, जीवन्त, सक्रिय हुनुपर्यो। अहिले पनि उहाँ नै १६ वर्षे जवानसरह सक्रिय हुनुहुन्छ। त्यो सक्रियता, इमान्दारिता र विचारमा श्रेष्ठता जसले कायम गर्नसक्छ ऊ नै नेतृत्व हुन्छ। अहिलेसम्म हाम्रो पार्टीमा सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ। प्रचण्डको प्रतिष्पर्धी पनि छैनन्। प्रतिष्पर्धामा लायक जुन दिन आउँछन् त्यो दिन प्रतिष्पर्धामा जसले कायम गर्छ उही हुन्छ। उत्तराधिकारी निर्माण गर्ने भनेको सम्बन्धित व्यक्तिमा भर पर्छ,’ उनले भने।

त्यस्तै, भ्रष्टाचरको प्रसंगमा बोल्दै नेता दाहालले भ्रष्टाचारी पार्टीभित्रकै भए पनि कारबाहीको दायरामा ल्याउने बताए। उनले भ्रष्टचारी पार्टीभित्र वा बाहिर जहाँको भए पनि कोही कसैलाई छुट नहुने उनको भनाइ थियो। नेता दाहालले भने, ‘अब माओवादी गढगढाउँदो नदी हुन्छ। थोरै फोहोर लागेको जस्तो भएको थियो।’