फाइल तस्वीर

काठमाडौं : नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसका कारण लाखौं नेपालीले नागरिकता पाएको बताएकी छन्।

कांग्रेस केन्द्रीय कार्यसमितीको जारी बैठकमा उनले कांग्रेसको नेतृत्वमा आएको नागरिकता विधेयकका कारण नागरिकताविहीन लाखौं नेपालीले नागरिकता पाएको बताइन्। उनले लाखौं नेपालीलाई नागरिकता लिन सहज बनाउने नेपालको वर्तमान राष्ट्रपतिको उपचार खर्चका विषयमा विवाद गर्न नहुने समेत बताइन्।

‘यदि अहिले राष्ट्रपतिको उपचार खर्चको कुरा उठाउने हो भने विगतमा पनि कसले कति खर्च गरेको छ सबै सार्वजनिक गर्नुपर्छ। अहिलेको राष्ट्रपतिको मात्रै कुरा गर्नु हुँदैन ’, डिनाले भनिन्।

उनले बालकृष्ण खाँणलाई फसाउन पार्टीकै नेताहरु लागिपरेको आरोपसमेत लगाइन्। उनले खाँणविरुद्धको आरोप प्रमाणित गराउन पार्टीकै साथीहरुले दबाब दिइरहेको दावी पनि गरिन्।

‘न्यायालयले गर्ने काम न्यायालयलाई गर्न दिनुपर्छ। न्यायलयको काममा हस्तक्षेप गरेर दबाब दिनु हुँदैन। पार्टीको नेतालाई जबरजस्ती फसाउन कांग्रेसकै साथीहरु किन लागिपरेको?’, उनले प्रश्न गरिन्।

कांग्रेस कमजोर भएको नभएको भन्दै उनले कांग्रेस तीनै तहमा पहिलो पार्टीको रुपमा रहेको बताइन्।