काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकोबारे छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको जनाइएको छ।

पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदल आफ्नो स्थलगत अध्ययन सकेर हाल काठमाडौँ फर्किएको छ। आगामी हप्ता पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको संयोजक थापाले जानकारी दिए। चुनावमा अन्तर्घात भएको विवरण प्राप्त भएको र थुप्रै नेता त्यसमा दोषी देखिएको जनाइएको छ।

दोषीमाथि कारबाहीका लागि सिफारिससहित पार्टीमा प्रतिवेदन बुझाइने संयोजक थापाले बताए। छानबिन समितिले तयार पारेको प्रतिवेदनमा कति जना दोषी छन् भन्ने छान्ने काम अझै नसकिएको उनको भनाइ छ।

जिल्ला जिल्लामा लिइएको बयान तथा कार्यदललाई प्राप्त बयानलाई भिडाउने काम भइरहेको र त्यसको आधारमा दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गर्ने संयोजक थापाले बताए। कारबाहीस्वरूप पार्टीबाट निलम्बन तथा निष्कासनसम्मको सिफारिस हुन सक्ने बताइएको छ।

२०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा अन्तर्घात छानबिन गर्न कार्यदल गठन भएको थियो।