काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमुना मतपत्र सार्वजनिक गरेको छ।

जसअनुसार सङ्घीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुई थरी मतपत्र प्रयोग हुनेछ।

रातो मतपत्र सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेशसभाका सदस्यहरूको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सात वटै प्रदेशसभाका सांसद मतदाता छन्।

सङ्घीय सांसदहरूको मत भार ७९ अङ्क र प्रदेशसभाका सांसदको मत भार ४८ तोकिएको छ।

राष्ट्रपतिमा ८ दलको समर्थनमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

राष्ट्रपतिका लागि मतदान फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म हुनेछ। निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र सातै प्रदेशका ५ सय ५० प्रदेशसभा सदस्यले मतदान गर्नेछन्।

दलीय गडजोड हेर्दा पौडेलको पक्षमा बहुमत देखिएको छ। एमालेले दलीय ह्विप नलाग्ने भएकाले नेम्वाङका पक्षमा मत तान्ने दाबी गरेको छ।