काठमाडौं : नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएको छ। साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ।

माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई उपाध्यक्षमा बढुवा गरेको जनाएको छ। यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए। पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन्।

उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए।

त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य छन्। कोषाध्यक्षमा श्रीराम ढकाल छन्।

माओवादी केन्द्रमा अब पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य २०२ जना छन्।