सर्वोच्चको फैसलाले कसलाई न्याय भयो मैले बुझिनँ : एमाले अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अन्याय गरेको बताएका छन्। उनले आइतबार प्रतिनिधिसभाको बैठकमा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटी देखाएर लामिछानेमाथि अन्याय गरेको बताएका हुन्।
उनले सर्वोच्च अदालतको फैसलाबाट कसलाई न्याय भयो भन्दै प्रश्नसमेत गरे। उनले उजुरी गर्ने व्यक्तिलाई लामिछानेले के अन्याय गरेको भएर उजुरी गर्नुभएको हो भन्दै प्रश्न गरे। उनले असम्बन्धित उजुरीकर्ताको उजुरीले र अदालतको फैसलाले न्याय कसलाई भयो भन्ने स्पष्ट नभएको बताए।
उनले रवि लामिछाने प्रतिनिधिसभाको ढोका खुला भएर मात्रै प्रतिनिधिसभा नछिरेको भन्दै निर्वाचन आयोगले योग्य ठहर गरिसकेपछि मात्रै निर्वाचित भएको दावी गरे। उनले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिने भनिरहँदा रास्वपा सभापति लामिछानेको विषयले गैरआवासीय नेपालीहरुलाई मताधिकार दिने वा नदिने भन्ने बारे प्रश्न उठेको बताए।
विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिने भनिरहँदा यस किसिमका फैसलाहरुलाई आगामी दिनमा हुन नदिन स्पष्ट नीति बनाएर अघि बढ्न आवश्यक रहेको उनले बताए।
उनले भने, ‘हाल सर्वोच्च अदालतबाट निर्णय भयो, सरकार उपप्रधान तथा गृहमन्त्री र जनताले अत्यधिक मतले विजयी गराएर पठाएका सांसद रवि लामिछानेको सम्बन्धमा अदालतबाट एउटा मुद्दा फैसला भयो। हामी अदालतलाई सम्मान गर्छौं त्यसकारण त्यस निर्णयलाई मान्छौँ। उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ? र उजुर गरे, के सरोकार हो, के कारणले हो, के अन्याय भयो र न्याय खोजे, एउटा असम्बन्धित व्यक्तिले उजुरी गरेको देखिन्छ। अदालतको काम त न्याय दिने हो, यस फैसलाबाट कसले न्याय पायो मैले बुझिनँ‚’ उनले भने‚ ‘न्याय दिनका लागि अदालतले काम गर्ने हो, कसले न्याय पायो, कसलाई दिइयो, बुझिएन। कुनै व्यक्ति, समूह, संस्था, राज्यका कुनै हक अधिकारमाथि उल्लंघन भयो भने रोक्नुपर्छ, तर सम्मानित सर्वोच्च अदालतको फैसलाले कुनै सस्टेन्सियल इरर भन्दैन, त्रुटी पनि तात्विक अर्थ राख्ने खालको भन्दैन, प्रक्रियागत त्रुटी। शुक्रवार रवि लामिछाने, जो पहिला नै आफ्नो स्ट्राटेजी सार्वजनिक गरिसकेका छन्, दोस्रो ढोका खुला रहेछ भनेर फुत्त पसेका होइनन्, निर्वाचन आयोगमा उजुरी परेको, उजुरी ठिक नठहरिएको, बदर भएको, उम्मेदवार हुन पाउँछ वैधानिक छ भनेर सदर गरेको, चुनाव लड्दा अत्याधिक मतले जनताले आफ्नो प्रतिनिधि छानेको। प्रक्रियागत त्रुटी हुन गएछ, त्यतिमा सांसद, पार्टी अध्यक्ष, गृहमन्त्री, उपप्रधानमन्त्री भयो। रवि लामिछानेलाई न्याय भएन भने कसलाई न्याय भयो त। कसले न्याय पायो, फैसलामा न्याय त कतै होला नि। कोही पनि देखिनँ। रवि लामिछानेसँग कुनै पनि सम्बन्ध छैन।’
उनले शुक्रबारदेखि आइतबारसम्म के भयो, आइतबार फेरि पुरानै मितिको पुरानै नागरिकता जारी भएको पनि उल्लेख गरे। ‘विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार भन्दैछौँ, मतदानको अधिकार भए उम्मेदवार हुने अधिकार पनि होला, यदी उम्मेदवार हुने अधिकार भए, नागरिकता, पासपोर्ट, भिसा केकेको छानबिन गर्छौं, निर्वाचन आयोगले त छानबिन गरेकै हो, भोलि के गर्ने? यस कुराले अब गैरआवासीय नेपालीहरुमा के असर पर्छ, नेपालमा रहेको सम्पत्तिमाथि के असर पर्छ, यी विषयमा गम्भीर हुनुपर्छ। स्पष्ट हुने गरी कानून निर्माण गर्नुपर्छ कि, सर्वोच्च अदालतले सबै पक्षलाई मध्यनजर राखेर फैसला गर्नुपर्छ।’
अध्यक्ष ओलीले राजनीतिक मुद्दाहरु फिर्ता लिइ राजनीतिक बन्दीहरुको रिहाईको प्रसंग उठिरहेको भन्दै यसमा सरकारले छिटो कानून निर्माण वा अन्य आवश्यक कुराका सन्दर्भमा छिटो कदम चाल्नुपर्ने बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















