काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका पूर्व राज्यमन्त्री मासाकी तायराले भेटवार्ता गरेका छन्।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा करिब दुई घण्टा भएको भेटमा नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने सहयोग आदान–प्रदानलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

ओलीले भेटमा नेपाल र जापानबीचको सम्बन्ध कतै पनि दाग नलागेको र अत्यन्त आत्मीय रहेको बताएका थिए। ओलीले नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको भए पनि नेपाल र जापानबीचको सम्बन्ध १२४ वर्षदेखि निरन्तर रहेको स्मरण गराए। उनीहरुबीच अमेरिकाले जापानका दुई सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेर गरेको नरसंहारका विषयमा पनि खुलेर कुराकानी भएको थियो।

ओलीले जापानी जनताले ती दिनमा भोगेको पीडाको सम्झना गर्दै र जापानी जनताको मुुक्तिको कामना गर्दै परमाणु बम प्रयोगका विरुद्धमा नेपालले हरेक वर्ष नेपालमा ‘परमाणु बमविरुद्धको दिवस’ मनाउने गरेको वताए।

ओलीले १८९९ मा जापानका भिक्षु नेपाल भ्रमणमा आएपछि १९०२ मा आठजना विद्यार्थी अध्ययनका लागि जापान पठाइएको, सन् १९७५ मे १६ का दिन जापानी महिला जुनको तावेईले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको विषय स्मरण गराउँदा मन्त्री तायरा पटक–पटक भावुक बनेको ओलीको सचिवालयले जनाएको छ।

भेटमा नेकपा एमाले परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, एमाले परराष्ट्र विभाग सचिव डाक्टर अञ्जान शाक्यलगायतको उपस्थिति थियो।

तायराले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई अझ विस्तार गरेर अघि बढाउने कुरामा आफू सकारात्मक रहेको बताए। उनले भेटवार्ताका क्रममा अध्यक्ष ओलीले उठाएका विषय स्वदेश फर्केर प्रधानमन्त्रीलाई सुनाउन आफू आतुर भएको बताएको डाक्टर शाक्यले बताइन्। तायराले नेपालको विकास र समृद्धिका लागि जापानले सहयोगको हात अघि बढाउने र सहयोगी बन्ने बताए

भेटमा जापानी पूर्व राज्यमन्त्री तायराले नेपाललाई कृषि, उर्जा, प्रविधि, पर्यटन जस्ता विषयमा सहयोग गर्न तयार रहेको उल्लेख गरे।