काठमाडौं : जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालयमा मधेश प्रदेश विशेष जिल्ला समितिले आयोजना गरेको प्रतिनिधिसभाका सांसदलाई बधाई तथा सम्मान कार्यक्रममा उनले सुधार गर्नुपर्ने बताएका हुन्।

‘विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न संघीय प्रणाली नै सुदृढ गर्न सकिन्छ,’ उनले भने।

फरक प्रसंगमा अध्यक्ष यादवले संसदमा कुनै खालको तमासा बाँकी नरहेकोसमेत बताए। ‘९० सिट ल्याउने पार्टी बाहिर छ, ३२ सिट ल्याउने पार्टी सरकारको नेतृत्वमा छ। योभन्दा शासकीय प्रणालीको विकृत रुप अरु के हुन सक्छ?’‚ उनले व्यंग्य गरे।