काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको लागि पहल भइरहेको बताएका छन्।

शनिबार नेकपा एसनिकट नेवासंघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक सक्रियताका लागि वाम शक्तिहरूलाई एक बनाउन आफूहरूले संवाद अगाडि बढाइरहेको बताए।

‘राजनीतिक सक्रियताका लागि वाम शक्तिहरूलाई एक बनाउनुपर्छ। राजनीतिक पार्टीहरूलाई संवाद गर्नुपर्छ। कुरा मिल्नेहरूसँग मोर्चा पनि बनाउनुपर्छ। कुन पार्टीसँग हाम्रो एकता हुन सक्छ ती पार्टीहरू हामी खोजी गर्नेछौँ। निरन्तर संवाद गर्नेछौँ,’ उनले भने।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टीसँग एकताका लागि कार्यदल गठन भइसकेको र निरन्तर संवाद जारी रहेको बताए। उनले कार्यदलले जसपाका अध्यक्ष उपेन्द्र यादव, नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरी लगायतका नेताहरूसँग संवाद अगाडि बढाएको बताए।

‘विचारमा हामी कति मिल्छौँ। मार्क्सवाद, लेलिननवाद, समाजवादप्रति हामी कति प्रतिबद्ध हुन्छौँ। यी सबैमा हाम्रा धारणा र विचार कति मिल्छन्? सबै विषयमा खाका तयार गर्नेछौँ। मजदुर किसान पार्टीसँग पनि हामी कुराकानी गर्छौं,’ अध्यक्ष नेपालले भने।

पार्टीभित्र सक्रिय व्यक्तिहरूलाई प्रोत्साहन गर्ने बताउँदै उनले पार्टीलाई प्रोत्साहान नगर्नेहरूलाई बिदा गर्नेसमेत बताए।