काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिले साना दलहरुलाई प्रधानमन्त्री पद बाँडिरहेको आरोप लगाएका छन्।

नवनिर्वाचित सांसदहरुका लागि पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले कांग्रेसले अहिले खुद्रा खेल खेलिरहेको टिप्पणी गरे।

‘यो सरकारलाई असफल पार्ने प्रयास बेस्सरी भएको छ, यो सरकारलाई हामी सफल बनाउँछौं।’ ओलीले भने, उहाँहरू साना दलका नेताहरूलाई प्रधानमन्त्री बाँड्नेजस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’

कांग्रेसले पुस २६ गते नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पुग्न नदिन चलखेल गरिरहेको भन्दै ओलीले अब ५ वर्ष कांग्रेसको काम नै सरकार ढाल्नमा केन्द्रित हुने आरोप लगाए।

ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएको अवस्थामा स्वतः उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेको स्मरण गराए।

‘यति पनि पढ्दैन बुझ्दैन भन्ठान्छन् कि’, ओलीले भने, ‘उहाँहरू धमाधम प्रधानमन्त्री बाँडिरहनुभएको छ। संविधानका यतिको प्रावधान धेरैले बुझिसकेका छन्।’