पर्वत : गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य पर्वतका मित्रलाल बस्यालले शपथ लिएका छन्।

६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा पर्वतको प्रदेशसभा (ख) बाट नेकपा (एमाले)का तर्फबाट विजयी उनी उमेरले ६५ वर्षमा चलिरहेका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको निवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गण्डकी प्रदेशका बहालवाला कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री तथा कास्की २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापाभन्दा २ दिन जेठा बस्यालले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने मौका पनि पाएका छन्।

प्रदेश प्रमुख पृथ्वीमानले १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन्। प्रथम अधिवेशनमा ज्येष्ठ सदस्यका हैसियतले बस्यालले अध्यक्षता गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

ज्येष्ठ सदस्यले बुधवार शपथ लिएपछि बाँकी ५९ प्रदेश सभा सदस्यहरूलाई पोखराको नदीपुरस्थित प्रदेशसभा हलको कक्षमा बिहीवार आयोजना गरिने शपथ खुवाउने कार्यक्रममा शपथ ग्रहण गराइनेछ। उनीहरूलाई ज्येष्ठ सदस्य बस्यालले नै शपथ खुवाउनेछन्।

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

यसअघि एमाले माओवादीको संयुक्त सरकार बन्दा संसद्‌मा सभामुख माओवादीका तर्फबाट नेत्रनाथ अधिकारी र एमालेका तर्फबाट उपसभामुख सिर्जना शर्मा बनेकीा थिए।

गण्डकी प्रदेशसभामा काँग्रेसका २७ जना, एमालेका २२ जना, माओवादी आठजना, राप्रपाका दुईजना र स्वतन्त्र चुनाव जितेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका राजीव गुरुङ गरेर ६० जना सांसद छन्।