सरकारमा चौथो शक्तिका रूपमा हाम्रो दाबी रहन्छ : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका हुन्।
बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने भएकाले आफूहरु सोहीअनुसार अघि बढ्ने पनि स्पष्ट पारे।
उनले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताए।
सभापति लामिछानेले भने, ‘अब आम नागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन। हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन हामीले। त्यसो हुनाले अब कुन ढंगले त्यो छलफल अघि बढ्छ भन्न सक्ने अवस्था रहेन। हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन। यद्यपि, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रुपमा हामीले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौँ। बाँकी हेर्दै जाऊँ।’
सभापति लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए। अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र शपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वाससमेत व्यक्त गरे।
अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यस बारेमा आफूले केही पनि बोल्न नचाहेको उनको स्पष्टीकरण थियो।
सभापति लामिछानेले भने, ‘अब अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा त खास बोलिरहन पर्दैन। सबै कुराहरु अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेको हुनाले अधिकार प्राप्त निकयाले सोधेको खण्डमा म जहिले पनि उपलब्ध छु।’
सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रुपमा पनि स्पष्ट रहेको जिकिर गरे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















