स्थायित्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँ : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्।
मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रुपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरूलाई हेर्दै अघि बढ्ने बताए।
‘हामीहरूको बीचमा धेरै छलफल भयो। गगन थापाले भने जस्तै स्थायित्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं’, उनले भने, ‘आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलीका दिनहरू हेर्दै जानुपर्छ। त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ।’
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन्। देउवाको प्रस्तावमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन्। महामन्त्री थापाको प्रस्तावकमा भने डा. शेखर कोइराला छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ रहेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















