काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ।

सभापति देउवा र महामन्त्री थापाले मंगलबार दिउँसो सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेर दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन्।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। साथै थापालाई डा. शेखर कोइरालाले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् भने उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेलले समर्थन गरेका छन्।

कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन भोलि बुधबार हुँदैछ। छैटौं पटक प्रधानमन्त्री बन्न लागेका सभापति देउवा पार्टीभित्र युवा सांसदहरुको घेराबन्दीमा परेका छन्।

पार्टीमा युवालाई अवसर दिनुपर्ने आवाज उठ्दै आए पनि देउवाको विकल्प खोजिएको थिएन। तर, यसपटक युवा नेताहरूले देउवाको विकल्प खोज्ने भएका छन्।

उमेरले ७६ वर्ष पार गरेका देउवा र ४६ वर्षीय महामन्त्री थापाबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा हुँदैछ। कांग्रेसले बुधबार संसदीय दलको नेता चयन गर्दैछ। भाेली जो दलको नेता चयन हुन्छ पार्टीले प्रधानमन्त्री पाउँदा उही प्रधानमन्त्रीका लागि योग्य मानिन्छ।

यसका लागि दुवै समूहले आफ्नो पक्षमा सांसद तान्न सक्रियता देखाएका छन्। आफ्नो पक्षमा स्पष्ट बहुमत पाएर ढुक्क जस्तै देखिएका देउवालाई ‘झक्झक्याउन’ युवा नेताहरूले सक्रियता देखाएका छन्।

गगनको पक्षमा युवा सांसदहरुको बाहुल्यता देखिएको छ। अन्तिम समयसम्म पनि आफ्नो कित्ता प्रष्ट नपारेका प्रदीप पौडेल, राजेन्द्र केसीसहितका नेताहरू गगनको पक्षमा खुलेपछि देउवा थप दबाबमा परेका छन्।

संस्थापन निकट मानिएका कृष्णप्रसाद सिटौला समूहका नेता पौडेलले एकाएक थापाको पक्ष लिएका हुन्। उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।

पौडेलले प्रतिनिधिसभाको निर्वाचन संस्थापन पक्षबाट जितेका थिए। तर, देउवाबाट परिवर्तनको आशा मारेका उनी कोइराला कित्तामा फर्किएका हुन्। सांसद राजेन्द्र केसीले युवाको पक्षमा लाग्ने बेला आएकोले आफूले गगनको पक्ष लिएको बताए। उनले भने, ‘अन्त जाने कुरै छैन। हामीले युवाको समर्थन गर्नुपर्छ।’

महामन्त्री थापाले उम्मदेवारी फिर्ता लिन सभापति देउवालाई आग्रह गरेका छन्। सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरे पनि देउवाले उनको आग्रहलाई वेवास्ता गरे।

साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गरेका छन्।

गुट छोडेर गगनकाे समर्थन

पार्टीको १४ औं महाधिवेशनमा फरक-फरक गुटमा रहेका युवा नेताहरू अहिले एउटै कित्तामा उभिएका छन्। नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेल एउटा कित्तामा उभिएका छन्।

१४ औं महाधिवेशनमा गगन-शेखर समूहबाट महामन्त्री बनेका थिए। विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्री निर्वाचित भएका थिए। प्रदीप पौडेल कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवार थिए। तर, उनी पराजित भएका थिए।

पौडेल मंगलबार बिहानसम्म कुनै पनि कित्ता खुलेका थिएनन्। तर, अचानक उनी गगनलाई संसदीय दलको नेतामा समर्थन गर्दै शेखर समूहमा पुगेका हुन्।

सिटौलाले अन्तिम समयसम्म पनि पौडेललाई रोक्न खोजेका थिए। तर, उनी सिटौलाको आग्रहलाई लत्याउँदै कांग्रेसभित्र परिवर्तनको संकेत दिन खोजेको देखिन्छ। निर्वाचित हुन्जेलसम्म अलगअलग समूहमा रहेका उनीहरू अहिले गगनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै एकजुट भएका हुन्।

संस्थापन पक्षको बहुमत

कांग्रेस संसदीय दलमा संस्थापन पक्षको बहुमत छ। संस्थापन पक्षसँग ५३, शेखर कोइराला पक्षसँग ३४ र हालसम्म नखुलेका दुई जना रहेका छन्। दीपक खड्का र सन्तोष चालिसे कतै पनि नखुलेका हुन्।

बहुमत सांसद देउवाको पक्षमा रहेकाले पनि गगनलाई चुनाव जित्न सहज देखिन्न। तर माहौल विस्तारै पक्षमा आइरहेको विश्लेषण यो समूहले गरेको छ।

संस्थापन पक्षमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, किशोरसिंह राठौर, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, दुर्लभ थापा, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठगकुरी, अजयकुमार चौरासिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, शान्ति विक, रुपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, अञ्जनी श्रेष्ठ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल र जावेदा खातुन रहेका छन्।

संस्थापनइतरका सांसद

डा. शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, राजेन्द्र कुमार केसी, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र हबजगाईं, डिगबहादुर लिम्बु, दिक्पालकुमरा शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता पसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर र मैना रावल रहेका छन्।

गगनकाे राजनीतिक यात्रा

महामन्त्री थापा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि विद्यार्थी संगठनमा लागेका थापा २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए।

त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बनेका उनी २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो। उनी उपाध्यक्ष हुँदै महामन्त्री बने।

जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उनी ८-१० पटक जेल परे। २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनीसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो।

त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन। उनी पक्राउ पर्दै छुट्दै गरे। लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्‍तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित भयो।

हुँदा हुँदै उनी लोकतन्त्र कै नायक बन्न सफल भए। नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदारी घोषणा गरेका थापालाई नेपाली कांग्रेसको भावी सभापतिको रूपमा पनि हेरिन्छ।