प्रदेश चाहिँदैन भनेर बहस चलाउनु गलत : शंकर पाेखरेल
काठमाण्डौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताउनुभएको छ ।
आज सोमवार काठमाण्डौमा आयोजित नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताउनुभएको हो । उहाँले कहीँ पनि प्रदेशविनाको शासन नभएको भन्दै सङ्घीयतामा प्रदेश झनै आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक शासन प्रणालीमा तीन तहको ढाँचा हुने उल्लेख गर्नुभयो । उहाँले सङ्घीयतामा प्रदेश आवश्यक छैन भन्ने बुझाइ गलत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले दुई तह भए पुग्छ, प्रदेश चाहिँदैन भन्ने प्रकारको बहस चलाउन खोजिएको छ । तपाईंहरूलाई पनि यो त राम्रै हो कि जस्तो लागेको पनि हुनसक्छ । म तपाईंहरूलाई के भन्छु भने कुन त्यस्तो देश छ जहाँ राज्य र प्रदेश नभइकन शासन भएको छ ? एकात्मक देशमा जानुहोस् । प्रदेशविनाको, राज्यविनाको एकात्मक देश छ ? के चीनमा राज्य छैन ? ब्रिटेनमा राज्य छैन ? जुन एकात्मक राज्य हुन् । जहाँ सङ्घीयता छैन, त्यहाँ पनि राज्य छन् । प्रदेश छन् । सङ्घीयतामा त झन् प्रदेश अनिवार्य छन् । प्रदेश नभए पनि हुन्छ भन्ने मान्यता कस्तो प्रकारको दिमागी उपज हो ? के हामीले बनाएको संविधान गलत छ भन्ने कुरा स्थापित गर्नका लागि खेलेको खेती त होइन ? हामीले जुन प्रकारको तहगत संरचना गरेका छौँ, त्यो सङ्घीयताको विशिष्ट मोडेल हो । हरेक प्रकारका शासन प्रणालीमा तीन तहको ढाँचा हुन्छ । चाहे सङ्घीयता होस्, चाहे एकात्मकता होस् सबै ठाउँमा तीन तह हुन्छ भन्ने कुरालाई नबुझिकन कहिले सङ्घीयतामा प्रदेश र सङ्घ भए पुग्छ भनेको छ, कहिले सङ्घ र स्थानीय सरकार भए पुग्छ प्रदेश चाहिँदैन भनेको छ । यो सबै नेपाललाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती हो भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’
महासचिव पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति सङ्घर्षको थलो बनाउन खोजिएको आरोप लगाउनुभयो ।
उहाँले नेपालको प्रशासनिक संयन्त्र सङ्घीयतालाई कार्यान्वयन गर्ने सवालमा मानसिकरूपमा तयार नभएका कारण समस्या पैदा भएको बताउनुभयो । काठमाण्डौ केन्द्रित प्रशासनिक मानसिकता नै सङ्घीयता कार्यान्वयनको समस्या भएको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले सहरीया मध्यम वर्गका कारण देशमा अस्थिरता निम्तिन लागेको बताउनुभयो । उहाँले देशमा स्थिरता कायम गर्नका लागि असन्तुष्ट सहरीया मध्यम वर्गलाई सन्तुष्ट पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहरीया मध्यम वर्गमा विचलन देखा परेको बताउनुभयो ।
महासचिव पोखरेलले सङ्घ, प्रदेश र पालिकाको संविधानमा उल्लेख भएको अधिकार सूचीहरूलाई इमानदारपूर्वक कार्यान्वयन गर्ने हो भने सङ्घीयता कार्यान्वयनमा समस्या नआउने बताउनुभयो । संविधानले तीनै तहलाई दिएको साझा अधिकार सूचीलाई सङ्घ सरकारले मात्रै प्रयोग गर्दा समस्या पैदा हुने गरेको उहाँको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















