कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दैछ। बैठक अपराह्न ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्। बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने नेताहरूले बताएका छन्।
आजको बैठकपछि संसदीय दलको निर्वाचनको मिति पनि तय हुनसक्ने उनीहरूको भनाइ छ। संसदीय दलको नेता नै आगामी प्रधानमन्त्रीको उम्मेदवार हुने संसदीय दलको नेता निर्वाचनका लागि चासो रहेको हो।
यसअघि शनिवार दिउँसो सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरूसँग भेट गरेका थिए। संसदीय दलको नेतामा सभापति देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह लगायत आकांक्षी छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















