बालुवाटार बैठक : गगनले देउवासँग दलको नेता दाबी गर्दा शेखर मौन
काठमाडौं : राष्ट्रपतिले सरकार गठनको आह्वान गर्ने तयारी गरिरहँदा नेपाली काँग्रेसभित्र संसदीय दलको नेता चयनको रस्साकस्सी चलिरहेको छ।
संसदीय दलको नेता प्रधानमन्त्री हुने भएकाले काँग्रेसमा संसदी दलको नेता बन्न आधा दर्जन आकांक्षी देखिएका छन्।
आकांक्षी धेरै भएपछि चुनौती महसुस गरेका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादु्र देउवाले शनिबार पार्टीबाट निर्वाचित सबै सांसदलाई बालुवाटार बोलाएका थिए। सांसदहरुलाई बधाई दिन र चियापानका लागि भनेर बोलाइएको भए पनि कार्यक्रम त्यतिमा मात्रै सीमित भएन।
पार्टी पदाधिकारीहरू पनि उपस्थित भएपछि विषयवस्तु संसदीय दलको नेतामा प्रवेश गर्यो।
अनौपचारिक छलफल चलेपछि महामन्त्री गगन थापाले आफूलाई देशको आवश्यकता अनुसार दलको नेता चुनिने इच्छा रहेको बताए। उनले कुनै हालतमा संसदीय दलको चुनाव लड्ने र प्रधानमन्त्री बन्ने तयारी चुनावअघि देखि नै गर्दै आएका थिए।
बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा पुस्तान्तरण हुनु पर्ने बेला आएको बताए।
बैठकमा सहभागी एक नेताका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले दलको नेता चुनिने पालो आफ्नो रहेको बताए। पौडेलले आफ्नो पालो आएको भन्दै प्रधानमन्त्री बन्ने इच्छा सभापति देउवालाई सुनाए ।
गगन थापालाई दलको नेतामा सघाउने संकेत गरेका नेता शेखर कोइराला भने छलफलमा मौन रहेको कार्यक्रममा सहभागी एक नेताले बताए। ‘दुई महामन्त्री, रामचन्द्र दाई र सभापतिज्यू बोल्नुभयो, शेखर दाइ बोल्नुभएन।’ उनले भने।
सबैको कुरा सुनेपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले अबको सरकार गठबन्धनकै बन्नुपर्ने बताए। दलको नेता चुनिने विषयमा भने उनले सल्लाह गर्ने जवाफ मात्रै फर्काएको ती नेताले बताए ।
देउवाले आइतबारका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गर्ने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आइतबारको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बस्नेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















