लुम्विनी प्रदेश सभामा बत्तीस महिलाको इन्ट्री :कुन पार्टीवाट को को परे ?
बुटवल२८ मङ्सिर । लुम्बिनी प्रदेश सभामा ३२ जना महिला सांसदको प्रतिनिधित्व हुने भएको छ। ८७ सदस्यीय प्रदेश सभामा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरूलाई समानुपातिकबाट ३१ महिला छान्नुपर्ने दबाब परेको हो। प्रदेश सभामा प्रत्यक्षतर्फ बाँकेबाट कृष्णा केसी मात्रै निर्वाचित हुनुभएकाले समानुपातिकबाट ३१ महिला छान्नु परेको हो। लुम्बिनीमा समानुपातिकतर्फ नेकपा (एमाले)ले ११, नेपाली कांग्रेस १०, नेकपा (माओवादी केन्द्र) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई, नागरिक उन्मुक्ति पार्टी दुई, जनमत पार्टी दुई, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले एक/ एक गरी ३५ सिट प्राप्त गरेका छन्।प्रदेश सभामा प्रतिनिधित्व गर्नेको नाम विभिन्न पार्टीले आइतबार नै निर्वाचन आयोगमा बुझाइसकेका छन्। कांग्रेसले लुम्बिनी प्रदेश सभाका १० समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ।
प्रत्यक्षतर्फ १७ क्षेत्र जितेको कांग्रेसले समानुपातिकतर्फ १० सांसद पाएको छ। तीमध्ये खसआर्यबाट जमुना ढकाल (रुपन्देही), नीमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया), जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्युठान), माया पुन (बाँके), थारूबाट देवीप्रसाद चौधरी (रुपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके), मधेसीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी विक (दाङ) र मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके) रहनुभएको छ।एमालेले प्रत्यक्षतर्फ १८ सिट जितेकोमा समानुपातिकमा ११ सिट पाएको छ। एमालेबाट खसआर्य महिलातर्फ जानकी न्यौपाने (रूपन्देही), वसन्ती न्यौपाने (बाँके), आदिवासी जनजाति महिलाबाट सरिता पुन (रुकुमपूर्व), यमुना रोका तामाङ (रोल्पा), थारूबाट सीता चौधरी (दाङ), भगवती कुमारी थरुनी (रूपन्देही), दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), रेखाकुमारी शर्मा (दाङ), मधेसीतर्फ शान्ति लोध (रुपन्देही), अल्पसङ्ख्यक र मुस्लिमतर्फ राशा बानु (बाँके) र खसआर्य पुरुषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) हुनुहुन्छ।
त्यसैगरी माओवादी केन्द्रबाट दुई महिला र दुई पुरुष समानुपातिबाट सांसद बनेका छन्। खसआर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची), जनजातितर्फ दिलकुमारी बुढा (रुकुमपूर्व), थारूतर्फ कृष्णा थारू (बर्दिया) र दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) रहनुभएको छ।राष्ट्रिय जनमोर्चाबाट गुल्मीकी तारा थापा, जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले (बर्दिया), नागरिक उन्मुक्ति पार्टीबाट निर्मलाकुमारी थारू चौधरी (रुपन्देही) र नोरीकुमारी चौधरी (बाँके) समानुपातिक सांसद बन्नुहुने भएको छ। एकीकृत समाजवादीबाट भगवती अधिकारी घिमिरे (रुपन्देही), जनमत पार्टीबाट सुमन रायमाझी (बर्दिया) र गीता गुरुङ (रुपन्देही), लोसपाबाट हेमा बेल्बासे केसी, राप्रपाबाट मेनुका खाण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ बाँके रहनुभएको छ।लुम्बिनी प्रदेश सभामा १० राजनीतिक दलको सहभागिता हुनेछ।
प्रत्यक्षमा आठ दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप दुई दलले ‘थ्रेसहोल्ड’ कटाएर एक÷एक सिट पाउने भएपछि प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको हो। लुम्बिनीमा ३२ दलले चुनावमा भाग लिएका थिए। यहाँ स्वतन्त्रले तीन सिट जितेको छ। २०७४ सालको प्रदेश सभा निर्वाचनबाट लुम्बिनी प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अहिले दलहरूको प्रतिनिधित्व दोब्बरले बढेर १० पुग्ने भएको हो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















