काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै, समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

आइतबार दिउँसाे ३ बजेसम्म ८७ लाख १९ हजार ९९ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २३ लाख ९१ हजार ७७८ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २२ लाख ८३ हजार ६ सय ९० मत पाएको छ। माओवादी केन्द्रले ९ लाख ९९ हजार ८ सय ९० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ५८ हजार ७० सय ३ मत पाएको छ।

यसैगरी समानुपातिकतर्फ राप्रपाले ५ लाख ९ हजार ४४२ मत पाएको छ। जनता समाजवादी पार्टी जसपाले ३ लाख ३३० मत पाएको छ। जनमत पार्टीले २ लाख ३५ हजार८०१ मत पाएको छ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार ३५९ मत पाएको छ। यो पार्टी थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ।

अहिलेसम्म यो पार्टीले २ दशमलव ६ प्रतिशत मात्रै मत पाएको छ। थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत प्राप्त गर्नै पर्छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख १ हजार ५०८मत पाएको छ। लोसपाले एक लाख २२ हजार ६३६ मत पाएको छ।​

यसैगरी नेमकिपाले ७० हजार ३५९ मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४९ हजार ९०मत पाएको छ। जनमोर्चाको ४३ हजार ३९७ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ ।