सल्यान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनपछि गठबन्धनकाे सरकार बन्ने दाबी गरेका छन्। उनले निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र त्यसपछिको सरकार गठबन्धनकै बन्ने दावी गरेका हुन्।

चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लागेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान सल्यानमा पत्रकारहरुसँग कुराकानी गर्दै केपी ओलीले जनताको त्याग तपस्या र वलिदानबाट प्राप्त संविधान मिच्नुका साथै व्यवस्थालाई ध्वस्त गर्न थालेपछि वाम लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताए।

केपी शर्मा ओली बहुमत नै ल्याउँछु भनेर हिडिँरहे पनि यथार्थ र तथ्यमा जाँदा त्यस्तो नभएको उनको भनाई छ । यस अघि जनताले बहुमत दिँदा पनि सरकार चलाउन छोडेर संसद विघटन, संविधान मिच्ने काम गरेकाले अहिले पनि वहुमत ल्याउँछौं भनेर हिँडनु लाजको बिषय भएको बताए।

पहिले वाम गठबन्धन गर्दा त्यसको प्रस्ताव आफुले गरेको र आम जनता कार्यकर्ताले समर्थन गरेको र दुई तिहाई आएको सरकारलाई ओलीले नै टिकाउन नसकेको उनले आरोप लगाए।

अर्को फरक प्रस‌ंगमा अध्यक्ष प्रचण्डले आफुले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने तर अवसर आए पछि नहट्ने बताए। प्रधानमन्त्रीका लागि गठबन्धन भित्र विवादको विषय नहुने र प्रतिगमनका विरुद्ध गठबन्धन भएको बताए।