३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बर्दिया : ३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका -८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत बर्दियाको २०७३ पुस २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी जम्मा ३० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
ठाकुरबाबा नगरपालिका-८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसिईबीका कारण धारिलो हतियार दाउ प्रहार गरी हत्या गरी फरार भएको भन्ने जानकारी प्राप्त भई तत्काल खटिएको प्रहरीले अजिबलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो।
बयान कार्य सम्पन्नपश्चात् शौचालय जान्छु भन्ने बहाना गरी शौचालयको भ्यान्टिलेसनबाट निस्की फरार भएका थिए।
पक्राउपश्चात् उनलाई बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















