मिलेर चुनावमा उठ्ने, मिलेर गरिबी हटाउने माैका आएकाे छ : प्रधानमन्त्री देउवा
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ ।
आज आइतवार काठमाण्डाैमा आयोजित काठमाण्डाै क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको जिकिर गर्दृ राजनीतिक स्थायित्वका लागि सबै पार्टी एक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले चुनावमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनुपरेको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धनमार्फत लोकतन्त्र, प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले अहिले सबै पार्टी एक हुन जरुरी छ । त्यसैले गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ, त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले मिलेर चुनावमा उठ्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताउनुभयाे । उहाँले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले काठमाण्डाै क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवार आपसमा मिलेर गठबन्धनलाई अत्यधिक मतले विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।




















