स्याङ्जा – रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जाको वालिङमा आज बिहीवार भएको समूह ‘ए’ को खेलमा पुलिसले बाग्मती प्रदेशलाई ५–० गोलले पराजित गरेको हो ।

खेलकाे १७ औँ मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसले एक मिनेट पछाडि नै दोस्रो गोल थपेको थियो । रेखा पौडेलले एक्लो प्रयासमा गोल गरेकी हुन् । २१ औँ मिनटमा पौडेलले नै व्यक्तिगत दोस्रो गोल गरिन् । २३ औँ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गरिन । ८७ औँ मिनेटमा निरु थापाले पुलिसका लागि अर्काे गोल गरिन् ।

खेलमा बाग्मतीकी पहिराे राेजाइकी गोलरक्षक सजना माझी घाइते भएपछि झराना नगरकोटीले विकल्पका रूपमा मैदानमा बाेलाएकाे थियाे ।

खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडीले राम्रो खेल्दा जित सम्भव भएको बताउनुभयो । बाग्मतीका प्रशिक्षक सुनिल श्रेष्ठले भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेपेको बताउनुभयो ।