कम्युनिष्टहरुको एकता अहिले पनि उत्तिकै आवश्यक छ : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि कम्युनिष्ट पार्टीहरूको एकता अहिले पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। यसअघि आफ्नै पहलमा बनाइएको बाम गठबन्धन बचाउन नसकिएको भन्दै उनले फेरि नयाँ सिराबाट कम्युनिष्ट एकता आवश्यक रहेको बताए।
देशी र विदेशी प्रतिक्रियादीहरु, पार्टी भित्रैका व्यक्तिवाद र अवसरवादका कारणले त्यो महान एकतालाई पूरा गर्ने क्रममा दुर्घटना भयो’, उनले भने, फेरि पनि अहिले पनि कम्युनिष्टहरुको एकता उत्तिकै आवश्यकता छ र हामी नयाँ सिराबाट फेरि वामपन्थीलाई नजिक ल्याएर एकता गर्न लागिरहेका छौं।’
अहिले पनि परिवर्तन पक्षधर र विरोधी बीचमा निकै पेचिलो संघर्ष चलिरहेको प्रचण्डको भनाइ छ।
‘परिवर्तन विरोधीहरु संविधानसभाबाट बनेको संविधान उल्ट्याउनका निम्ति पटक पटक जमर्को गरेका छन्, त्यो हामीले गत साल पटक पटक प्रतिनिधिसभा विघटनबाट भोग्यौँ, सबैको सहयोगमा त्यतिबेला परास्त गरियो’, उनले राष्ट्रपतितर्फ संकेत गर्दै भने, ‘तर भिन्न–भिन्न रुपमा अहिले पनि संविधानका प्रगतिशील उपलब्धी उल्ट्याउने कसरत रोकिएका छैनन्।
उनले प्रतिगमन शक्तिहरू सबै एक भएर माओवादीविरुद्ध लागिरहेको दाबी पनि गरे । ‘माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको छ । एकथरि मान्छे बसेर रातदिन धुप हालिरहेका छन् प्रचण्ड सकियोस् भनेर।’ प्रचण्डले भने, ‘जसले परिवर्तनको नेतृत्व गर्यो त्यसैमाथि किन प्रहार भइरहेको छ ? काल्पनिक र कपोकल्पित आरोप लगाइन्छ।’




















