अपराध नियन्त्रण गर्न प्रहरीलाई नियमित तालिम आवश्यक : गृहमन्त्री खाँण
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले अपराध रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू दिन आवश्यक रहेको बताएका छन्।
भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।
गृहमन्त्री खाँणले यस्ता तालिमबाटै प्रहरी संगठनको क्षमता विकास हुने बताए। ‘समाजमा हुने विभिन्न प्रकारका अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने, देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न तालिम आवश्यक छ,’ उनले भने।
उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि निरन्तर सौहार्दपूर्ण र सुमधुर रहेको भन्दै दुवै राष्ट्रबीच राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत हरेक क्षेत्रमा साथ र सहयोग रहेको बताए।
भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच राम्रो सम्बन्ध रहेको चर्चा गर्दै दुवै देशबीच भौतिक संरचना निर्माणलगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत आपसी सहयोग हुँदै आएको बताए।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण नेपाल प्रहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको बताए। उक्त भवन १२ जुलाई २०२५ सम्ममा अनुमानित १० अर्ब १ करोड ५१ लाख १ रूपैयाँ लागतमा निर्माण गर्ने लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























