काठमाडौं : चिनिया राष्ट्रपति सी चिनफिङले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवि भण्डारीलाई संविधान दिवसका अवसरमा शुभकामना सन्देश पठाएका छन्।

सन्देशमा उनले नेपाल र चीन पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिएपनि हामी दुई सँधै एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत व्यवहार गर्ने उनले सन्देशमा उल्लेख गरेका छन्।

त्यस्तै बेल्ट एण्ड रोड अवधारणको उच्च गुणस्तरीय संयुक्त निर्माण गर्दै कोरोना महामारीको चुनौतीको सामना गरिरहेको पनि सीले सन्देशमा उल्लेख गरेका छन्। यस्तै आफूहरु मैत्रीपूर्ण राजनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने पनि सीले उल्लेख गरेका छन्।

यस्तै संविधान दिवसको अवसरमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई सन्देश पठाएका छन् भने परराष्ट्रमन्त्री वाङ यीले पनि समकक्षी नारायण खड्कालाई सन्देश पठाएको नेपालस्थित चिनिया राजदूतावासले जनाएको छ।